Shyam

about all info which you want

Sisneri Nepal & Game and Technology

Translate

Wednesday, August 10, 2011

जिएसएम मोबाइलका ग्राहक ९५ प्रतिशतले बढे

काठमाडौ, श्रावण २४ -
जिएसएम मोबाइल सेवा प्रदायकबीच बढेको प्रतिस्पर्धा र आक्रामक बजार रणनीतिका कारण बजारको आकार एक वर्षमै ९५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०६७/०६८ मा जिएसएम मोबाइल प्रयोकर्ताको संख्या अघिल्लाको तुलनामा ९५ प्रतिशतले बढेको हो । यो वृद्धिसँगै मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ७ लाख पुगेको छ ।

नेपाल टेलिकम र एनसेलले यस अवधिमा ३९ लाख ग्राहक थपेका छन् । आर्थिक वर्ष ०६६/०६७ मा भने २० लाख मात्र ग्राहक थपिएका थिए । गत आर्थिक वर्ष निजी क्षेत्रको कम्पनी एनसेलले सबैभन्दा धेरै २७ लाख ग्राहक थपेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकममा १२ लाख ग्राहक थपिएका छन् । दूरसञ्चार प्राधिरकणका अनुसार घट्दो महसुल, प्रतिस्पर्धा र मोबाइलको बढ्दो आवश्यकताका कारण संख्यामा उच्च वृद्धि देखिएको हो ।

'दुई वर्षमा सेवा प्रदायक कम्पनीबीच बढेको प्रतिस्पर्धाले ग्राहकको संख्यामा उच्च वृद्धि आएको हो,' प्राधिकरण स्रोतले भन्यो, 'तर गुणस्तरको अवस्था भने हुनुपर्ने भन्दा धेरै कम छ ।'

कम्पनीहरूले उपलब्ध गराउँदै आएको मोबाइल सेवाको गुणस्तर जाँच्नका लागि प्राधिकरणले काठमाडौं, पोखरा, विराटनगर र नेपालगन्जमा सर्वेक्षण गरिरहेको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षभित्र ग्रामीण र सहरी क्षेत्रमा साधारण फोन र मोबाइल सेवाको सर्वेक्षणका लागि २० लाख रुपैयाँको हाराहारी रकम छुट्याएको छ ।

सञ्चार क्षेत्रमा सबैभन्दा ठूलो स्थान जिएसएम मोबाइलको रहेको छ । तथ्यांकअनुसार यसको सञ्चार क्षेत्रमा ८० प्रतिशतभन्दा बढी हिस्सा छ । जिएसएम सेवा विस्तारसँगै कुल जनसंख्याको ४० प्रतिशतसँग सञ्चार सेवा पुगेको छ ।

एनसेलले सबैभन्दा धेरै ३ लाख ग्राहक माघमा थपेको छ । यही समयमा एनसेलले जिएसएम प्रयोगकर्ताको संख्यामा नेपाल टेलिकमलाई उछिनेको थियो । 'विभिन्न योजना र नेटवर्कको गुणस्तरका कारण एनसेलप्रतिको आकर्षण बढेको छ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन् । '२०११ को अन्त्यसम्ममा मुलुकको ९० प्रतिशत जनसंख्यालाई समेट्ने गरी सबै जिल्लाभित्र हाम्रो नेटवर्क पुग्ने छ,' उनले भनिन् ।

0 comments:

Post a Comment