काठमाडौ, श्रावण २४ -
नेपाली सेनाको संरक्षणमा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका पुराना हतियार सस्तो मूल्यमा बिक्री गरिएको सम्बन्धमा संसद्को राज्य व्यवस्था समितिले छानबिन गर्ने भएको छ ।
माओवादी द्वन्द्व चर्केका बेला ११ वर्षअघि सरकारले अत्याधुनिक हतियार खरिद गर्ने नाममा अमेरिकाको न्युजर्सीस्थित 'इन्टरनेसनल मिलिटरी एन्टिक्स' नामक कम्पनीलाई पुरातात्त्विक महत्त्वको ४ सय ५० टन हतियार बेचेको थियो । यससम्बन्धी समाचार कान्तिपुर टीभी र कान्तिपुर दैनिकबाट सार्वजनिक भएपछि समितिले रक्षामन्त्री विष्णु पौडेल, रक्षासचिव नवीन घिमिरे र प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई शुक्रबार जानकारी दिन बोलाएको छ ।
'पुरातात्त्विक र ऐतिहासिक महत्त्वका हतियार बेचिएको सम्बन्धमा सञ्चार माध्यममा समाचार प्रकाशित/प्रसारित भएको छ । मुलुकको इतिहास चिनाउने हतियार किन, कसरी, केका लागि बेचिएको हो भन्नेबारे सरोकारवालाबाट जानकारी लिन बैठक बोलाइएको छ,' समिति सभापति रामनाथ ढकालले भने, 'प्रारम्भिक जानकारी लिएपछि आवश्यकताअनुसार यससम्बन्धमा छानबिनलगायत आवश्यक कदम लिइनेछ ।'
हतियार खरिदकर्ता कम्पनीले आफ्नो वेबसाइट -आईएमएड्यास यूएसए डटकम) मार्फत ती हतियार खुला बिक्रीमा राखेको छ । वेबसाइटमा राखिएको विवरण अनुसार ९७ प्रतिशतभन्दा बढी हतियार सन् १८९८ भन्दाअघि बनेका हुन् । सरकारले नेपालका प्रथम वैज्ञानिक गेहेन्द्रशमशेरले बनाएका हतियारसमेत सो कम्पनीलाई बेचेको हो ।
रक्षा मन्त्रालय र सेना दुवैले यस सम्बन्धमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका हुन् । 'सञ्चार माध्यममा कुराहरू आएको छ, राज्यव्यवस्था समितिले पनि जानकारी मागेको छ । तर निकै पुरानो विषय भएकाले अहिले नै के भएको हो भन्नेबारे हामीलाई जानकारी छैन । हामी पनि खोजबिन गर्दैछौं,' रक्षा प्रवक्ता सहसचिव द्वारिकाप्रसाद आचार्यले भने । सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले पनि तत्कालीन सरकारले निर्णय गरेकाले यसबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
दरबारका पूर्वसैनिक सचिव रथी विवेक शाहले भने यस सम्बन्धमा दरबार, सरकार, रक्षा मन्त्रालय र सेना सबैलाई थाहा भएको बताए । 'सेनाकै प्रस्तावमा रक्षाले मन्त्रिपरिषद्बाट निर्णय गराएको हो । दरबारको पनि पुराना हतियार बिक्री र नयाँ हतियार खरिदसम्बन्धी विषयको जानकारी र चासो दुवै थियो,' उनले भने । पूर्वरथी शाहका अनुसार ती हतियार राम्ररी संरक्षण गरेर राख्न सक्ने अवस्था पनि नभएको र सडेर, गलेर जान थालेकाले बिक्री गरिएको उनले जनाए । नयाँ हतियार खरिदका लागि सरकारले पैसा नदिएकाले ती हतियार बिक्री गर्नुपरेको उनले जनाए ।
'सरकारले पैसा दिन सकेको थिएन, माओवादीसँग युद्ध लडेको अवस्था थियो । त्यसैलै ती पुराना हतियारका साथै प्रहरीलाई पुराना थ्रीनट थ्री र सशस्त्रलाई पुराना एसएलआर बेचेर नयाँ हतियार किनिएको हो,' पूर्वरथी शाहले भने, 'यसलाई देशको इतिहास बेचेको रूपमा लिनु वा प्रहरीको सुडान घोटालाजस्तो मान्नु उचित होइन ।' हतियार क्रेता कम्पनीलाई सेनाको हतियार भण्डारण क्षेत्रको तस्बिर, श्रव्यदृश्य खिच्न दिनु र कम्पनीले त्यसलाई विज्ञापनका रूपमा प्रयोग गरी आफ्नो वेबसाइटमा राख्नु भने गलत भएको उनले जनाए ।
नेपाली सेनाका पूर्वयुद्धकार्य तथा व्यवस्था निर्देशक -डीएमओ) प्रदीपप्रताप बम मल्लले माओवादीविरुद्ध सेना परिचालन गर्ने तयारी भइरहेकाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै पालामा हतियार बिक्री प्रक्रिया सुरु गरिएको जानकारी दिए । त्यसबेला प्रधानसेनापति प्रज्वलशमशेर जबरा थिए । आफू डीएमओमा आउनुअघि नै निर्णय भइसकेको र भारतले केही समय रोकिदिएकाले मात्रै पछि प्यारजंग थापा प्रधानसेनापति हुँदा ढुवानी भएको उनले जनाए ।
'पुराना हतियार, उपकरण बेच्ने निर्णय प्रधानसेनापति र पीएसओज -पि्रन्सिपल स्टाफ अफिसर्स) ले गर्छ । त्यसपछि सम्भाररथी विभागले टेन्डर खोल्ने, बेच्नेलगायतका काम गर्छ,' उनले भने । हतियार बिक्रीका बेला तत्कालीन उपरथी कुमार फुदुङ सम्भाररथी विभागका प्रमुख थिए । हतियार खरिद गर्ने कम्पनीका मालिक अमेरिकी नागरिक क्रिस्चियन क्रान्मरले हतियार खरिदका क्रममा तत्कालीन उपरथी फुदुङका तर्फबाट सक्रिय भूमिका खेलेका ठमेलका व्यवसायी नरेश दासप्रति आधार व्यक्त गरेका हुन् ।






0 comments:
Post a Comment